घर छोएको भन्दै दलितलाई कुटपिट गर्ने जेल चलान


गल्मी । घर छोएको भन्दै दलितलाई कुटपिट गर्नेलाई जेल चलान गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेको भन्दै न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजाय सुनाएको हो ।

उनले गाउँकै श्याम नेपाली परियारलाई गएको जेठ २३ गते दिउँसो घर छोएको भन्दै गाउँले बोलाएर कुटपिट गरेका थिए । श्याम मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लागेका थिए ।

मगरले आफ्नो घर छोएको भन्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १५ सय जरिवाना तर्न लगाएका थिए । यो घटाना विभिन्न सञ्चार माध्यममा आएपछि कारवाही प्रक्रिया सुरु भएको थियो ।

उनीहरुले पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाल्न लगाएका थिए । सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जातिय छुवाछुतको घटनामा जेल चलान गरिएको जिल्लामै यो पहिलो घटना हो । जिल्लाका अगुवा दलित अधिकारकर्मीसमेत रहेका विश्वकर्माले जिल्लामा जातीय विभेद विरुद्धको मुद्दामा जेल सजायको फैसला सुनाइएको यो पहिलो घटना भएको बताए । काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार