
काठमाडौं । ६ युवा विधार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् ।
शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा निर्वाचन घोषणा गरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।
नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायत ६ राजनीतिक युवा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै उनलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ को उपधारा ५ को प्रकृया आरम्भ गर्न राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवि भण्डारीले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैंमा असंवैधानिक कदम भएको उनीहरुको ठहर छ ।
जेष्ठ ७ गते मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गर्ने सिफारिस राष्ट्रपति कार्यालयबाट तत्काल कार्यान्वयन हुनु दुःखद भएको विज्ञप्ति उल्लेख छ ।
बिहीबार राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा भित्र नै विपक्षी गठबन्धनबाट शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ वहुमत संसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गरिएको थियो । त्यस लगत्तै प्रधानमन्त्री ओलीले पनि आफुसंग वहुमत सासद रहेको भन्दै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि ओली र देउवा दुबैजनाको दावी नपुगेको भन्दै नयां निर्वाचनको मिति घोषणा गरेकी थिइन ।
जसलाई अवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध विपक्षी दलहरु कानुनी लडाई लड्ने बताइरहेका छन् ।
युवा संगठनहरुको जारी संयुक्त विज्ञप्ति












