चितवनका ७ वटै पालिकामा चुनावी तालमेल हुने गठबन्धनको निर्णय, एमालेलाई अपठ्यारो


चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र रहेको चितवन सधै चर्चामा रहने गर्दछ । आसन्न स्थानिय तहको चुनावमा पनि चर्चामै छ । सत्ता गठबन्धन तीन तहकै चुनावसम्म जाने केन्द्रिय नेताहरुबीच सहमती भइसकेको भएपनि केहि जिल्लामा विमती रहंदै आएको छ ।

स्थानिय तहमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने चितवन काँग्रेसले बताउँदै आएको छ । जुन कुराले गठबन्धनमा केहि असहज बन्दै आएको छ । चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेणु दाहाल मेयर छिन् ।

अबको मेयर पद काँग्रेसले पाउनु पर्ने र त्यसका लागि एक्लै चुनाव लड्ने जिकिर गर्दै आएको चितवन काँग्रेस अन्नत गठबन्धन गर्न तयार भएको छ । आज सत्ता गठबन्धनमा रहेका ५ दलको संयुक्त बैठकले आगामी स्थानीय तहको चुनावमा जिल्लाका सम्पुर्ण पालिकाहरुमा तालमेल गर्ने निर्णय गरेका छन् ।

कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले चितवनका ७ वटै पालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरेको हो । बैठकले सबै स्थानीय तह र जिल्ला समन्वय समितिको चुनावमा समेत तालमेल निर्णय गरेको चितवन काँग्रेसले जनाउको छ ।

सम्पुर्ण पालिकाहरुमा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने र संयन्त्रको संयोजनको जिम्मा कांग्रेसका पालिका सभापतिलाई दिने निर्णय भएको जारि विज्ञप्तीमा उल्लेख छ ।

यसअघिको स्थानीय चुनावमा चितवनका ७ मध्ये भरतपुर महानगरपालिका र माडी नगरपालिकामा माओवादीले जिते‍को थियो भने ४ वटा नगरपालिकामा एमालेले जितेको थियो । काँग्रेसले इच्छाकामना गाउँपालिकामा जितेको थियो । यस पटकको चुनावमा गठबन्धन हुनेभएपछि एमाले निकै अपठ्यारोमा पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार