
काठमाडौं । राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी शर्माओलीले नै अगाडि बढाएको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको बताएका हुन् ।
‘अहिले जब एमालेका अध्यक्ष केपी ओलीले यो एसपीपी सम्झौता सुरु गर्नुभयो भन्ने विषय उठेपछि सुशील कोइरालाले हो भनियो’, गौतमले भने, ‘त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्दिनँ ।’
गौतमले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्दछ भन्दै त्यसो भएर नै आफूमाथि पनि आरोप लाग्न सक्छ भनेर त्यसबारे खोजी नीति गरेको बताए । ‘म माथि पनि आरोप लाग्नसक्छ भनेर मैले खोजी नीति गर्दा अस्ति मात्रै एउटा पत्र आएको छ र त्यो पत्रले स्पस्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री भएको अध्यक्षज्यू सहभागी हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ’, गौतमको भनाइ छ ।












