
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले देशको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न नसक्नु दुःखद भएको बताएका हुन् ।
नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको उनको भनाई छ।
‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्। जुन निकै डर लाग्दो तथ्यांक हो। यसरी देशको दक्ष जनशक्ति विदेश पलायन हुने हो भने हामीले कसरी देश बनाउन सकौँला र ?,’ नेता महरले प्रश्न गरे। यस बिषयमा राजनीतिक दल र राज्य गम्भिर हुनुपर्नेमा उनले जोड दिए ।
दक्ष जनशक्तिलाई देशमै रोक्न सके मात्रै देशले अपेक्षित विकास गर्न सक्ने नेता महरको भनाई छ ।










