
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
शेरजंगकी पत्नी लक्ष्मी गुरुङले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै आज दिउँसो सर्वोच्चमा निवेदन दिएकी हुन् । कुनै पनि व्यक्तिलाई गैरकानूनी थुनामा राखिएमा पीडित वा परिवारले अदालतमा रिहाका लागि निवेदन दिन पाउछन् । निवेदनउपर मंगलबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।
बन्दी प्रत्यक्षीकरणको निवेदनमा अदालतले तत्काल सुनुवाइ गरी न्यायनिरुपण गर्ने प्रचलन छ । मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।
क्यानडाको भिजा लाउन भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न भनेपछि विवाद उत्पन्न भएको थियो । उक्त घटनाबारे अहिले सामाजिकसंजालमा निकै चर्चा परिचर्चा भइरहेका छ ।















