
काठमाडौ । काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आज सामाजिकसंजालमार्फत मिश्रले निर्वाचनमा आफ्नो २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेको जानकारी दिएका हुन् ।
‘हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु’, उनले जारि गरेको विज्ञप्तिमा उल्लेख भनेका छन् ।
चुनावमा काँग्रेसका उम्मेदवार प्रकासमान सिंहसग पराजित भएका राप्रपा नेता मिश्रले सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार खर्च गरे र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको समेत बताएका छन् ।
उनले आफुलाई शुभचिन्तकमार्फत प्राप्त भएको लगभग ३३ लाख रकमबाट बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जाने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ। यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जानेछ’, विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने उनको भनाइ छ ।










