चोलेन्द्रलाई महाभियोग निष्प्रभावीको पत्र दिने गौतममाथि कारबाही गर्न बारको माग


काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममाथि कारबाहीको माग गरेको छ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महसचिव अन्जिता खनालले आज एक विज्ञप्ति जारी गर्दै संविधान, कानूनविपरीत काम गर्ने गौतमलाई तत्काल कारबाही गर्न माग गरेको हो।

‘अतः त्यस्तो सुन्यप्रभावी पत्र कार्यान्वयन नगर्न नेपाल बार एशोसिएशन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछ। साथै संविधान, कानून विपरीत काम गर्ने त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्न नेपाल बार एशोसिएशन माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यबाट नेपालको संविधान, ऐन, कानून तथा संसदीय मूल्य–मान्यताको उल्लंघन भएको हुँदा सो पत्राचार गरिएको कार्य उपर नेपाल बार एशोसिएशनको गम्भिर आपत्ति रहेका समेत विज्ञप्तिमा उल्लेख छ ।

एशोसिएशनले विगतमा १०९ दिनसम्म न्यायपालिकाको समग्र सुधार, शुद्धिकरण र सुदृढीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामा समेतको माग राखी निरन्तर आन्दोलनमा रहेकोसमेत स्मरण गरिएको छ ।

जबरालाई निलम्वन फुकुवाको पत्र दिएपछि उनि आजै सर्वोच्च आउन सक्ने भन्दै बार पदाधिकारी र कानुनव्यवसायीहरुले दिउँसोदेखि सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका छन्।

बारले जारी गरेको विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार