
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफुले पाएको जिम्मेवारी असल ढंगले निभाएर विदा हुन पाउँदा खुशी भएको बताएका छन् ।
गठबन्धन टुटेर नयां गठबन्धनको मन्त्रीमण्डल बन्दै गर्दा मन्त्री कुँवरले आज पत्रकार सम्मेलन गर्दैै आफ्नो कार्यकाल फलदायी भएका हुन् । उनले आफु मन्त्रालय आउँदा पनि हाँसेरै आएको र जाँदा पनि हाँसेरै जाने बताए । मन्त्री कुवँरले आफ्नो ५ महिना २८ दिने कार्यकालको ५३ बुँदे प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । उनले कार्यकालमा आन्तरिक रोजगारी सिर्जनादेखि वैदेशिक रोजगारमा जाँदा निःशुल्क भिसा र टिकट, विदेशमा श्रमिकहरुले पाएको समस्या संवोधन लगायतका कामहरु आफ्नो कार्यकालका सफल उपलव्धी भएको उनले दावी गरेका छन् ।
मन्त्री कुँवरको ५३ बुँदे प्रगति विवरणमा दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएका सम्झौताहरु पनि समेटिएका छन् ।
श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यको सुरुवात आफ्नै कार्यकालमा भएको मन्त्री कुँवरले प्रगति विवरणमा उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री कुँवरले बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको जानकारी दिए ।
‘नेपालको श्रम प्रशासनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाएको भन्दै उनले ‘संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको बताए ।
कुँवरलाई मन्त्रालयमा एक कार्यक्रमकाबीच विदाई समेत गरिएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्री कुँवरको विदाई गर्दै उनको व्यक्तिग स्वभाव र कार्यशैलीको प्रशंसा गरेका छन् ।














