सन्दीप लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै


काठमाडौं । किकेटर सन्दीप लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाई भइरहेको हो । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटन गएका थिए।

बालिका बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै उच्च अदालत पाटनमा गत मंसिर २९ गते रिट दर्ता गराएका थिए।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेमा लामिछानेले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने हुन्छ । तर उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेमा भने थुनामुक्त रही थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । यसबारे संभवत आजै आदेश आउनसक्ने अनुमान गरिएको छ ।

गत भदौ ५ गतेको राती र ६ गते बिहान सिनामंगलस्थित एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरिएको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा क्रिकेटर लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध जाहेरी दर्ता हुँदा बखत उनि क्रिकेट खेल्ने क्रममा विदेशमा थिए । मुद्धा दर्ता भइसकेपछि प्रहरीमा आत्मसम्पर्ण गरेका लामिछानेविरुद्ध प्रहरीले गत कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो । सो मुद्दामा सुनुवाइ हुँदा कात्तिक १८ गते लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने अदालतले आदेश दिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार