
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको सुनुवाई भइरहेको छ । सर्वोच्च अदालतको सवैधानिक इजलासमा उनको विवादको सुनुवाइ भइरहेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने समेत बताएका छन् ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि उनी नेपाली नागरिक नभएको बताएका छन् ।
सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजीको माग रिट निवेदनमा छ ।










