
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकार असफल पार्न लागिरहेको बताएका छन् ।
आज काठमाडौंमा एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेल्दै सरकार असफल पार्न लागिपरेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्याउन नदिन अन्य दलहरुलाई प्रधानमन्त्री पद बाँड्दै हिडिरहेको समेत बताए ।
पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । एमाले, माओवादीसहित बनेको सात दलिय सत्ता गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभा संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
संसदमा विश्वासको मत पाएन भने प्रधानमन्त्री पद गएको मानिन्छ । संसदमा त्यही विश्वासको मत पुग्न नदिन काँग्रेसले विभिन्न खेल खेलरहेको सत्तापक्षको आरोप छ ।कांग्रेस सभापति देउवाले सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।
संसदमा प्रधानमन्त्रीले विश्वसको मत नपाएपछि सरकार नै असफल भई ठूलो पार्टीको हैसियतले काँग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ । अध्यक्ष ओलीले कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र कसरी हुन्छ सरकार ढाल्न प्रयासमा लागिरहने बताए ।
प्रचण्ड नेतृत्वको सरकार गठन अघि पनि कांग्रेसले झुक्याउन खोजेको को आरोप थियो। राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको पुस १० गते बेलुका ५ बजेसम्मको समयसीमा गुजार्न कांग्रेसले भरपुर प्रयास र चलाखी गरेको ओलीले दावी समेत गरे ।










