
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारणका लागि सरकार गम्भिर लाग्ने बताएका छन् ।
आज विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार निवारणका लागि सरकार गम्भिर भएर लाग्ने बताएका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्न आफु तयार रहेको समेत उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए ।
‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो,आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु, अख्तियार चाहिने सबै सहयोग हुन्छ, प्रधानमन्त्रीले भने ।
सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकार गम्भीर रहेको बताए ।










