
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटरको १७५ तथा डिजेल र मट्टितेल प्रतिलिटरको १७२ रुपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य घटाउन निर्देशन दिन आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिव मधु मरासीनी र निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । ४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए ।











