
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जापानी संसदका सदस्य मासाकी जैराबीच भेटवार्ता भएको छ । उनिहरुबीच बिहीबार दिउँसो आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ ।
भेटमा जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरुबीचका अन्तरसम्बन्धका बारेमा छलफल भयो । त्यस्तै आर्थिक लगानीका विषयमा जापानका प्राथकितासम्बन्धी सुझावको आदान प्रदान समेत भेटमा गरिएको छ ।
भेटवार्तामा जापानी संसदका सदस्य मासाकी जैराले जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त गरेका छन् ।
त्यस्तै अध्यक्ष नेपालले पनि नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयको विकास, प्रर्वद्धद तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको र आगामी दिनमा यस्तै भूमिकाको अपेक्षा समेत व्यक्त गरेका छन् ।










