
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद दिवसको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको बलिदानबाटै सम्भव रहेको बताएका छन् । आज लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन शहीदहरूको बलिदानबाटै सम्भव रहेको बताएका हुन् ।
‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरुअमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । शहीद दिवस शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएको समेत बताए । प्रधानमन्त्री प्रचण्डले चारैजना शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण गरे।

देशमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध लड्दा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको हत्या भएको थियो ।
उनकै सम्झाना र सम्मानमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ का रुपमा मनाइँदै आएको छ । राणा शासनबाट जनता जनता स्वतन्त्र हुनुपर्ने माग गर्दै आन्दोलनमा गर्दा शहीद शुक्रराज शास्त्रीलाई वि.सं १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।













