
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। पार्टी सभापति रवि लामिछानेका चुनावी कामाण्डर रहेर काम गरेका सापकोटाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पछिल्लो पटक आशा गरेअनुरुप पार्टीका गतिविधि नदेखिएकाले पार्टी परित्याग गरेको उनको भनाई छ । पार्टी छोड्नुको कारणबारे अनमोलपोस्टको जिज्ञासामा उनले आफु ब्यवसायी समेत भएकाले पार्टीलाई समय दिन नसकेको कारण पार्टी त्यागेको पनि बताए । आफुले लिखित रुपमै पार्टी परित्याग गरेको पत्र बुझाएको सापकोटाले बताए ।
‘म एक ब्यवसायी हुँ । टाइम दिन नसकिने भयो । ‘जिल्ला सभापति भएर काम गरेन’ भन्ने गुनासो पनि आउन थाल्यो, त्यही भएर मैले पार्टी छोडेर फेरी स्वतन्त्र भए’, सापकोटाले अनमोलपोस्टसंग भने ।
नयां पार्टीप्रति जनताले भरोसा राख्नु स्वभाविक भएको भन्दै सापकोटाले रास्वपाले जनताको पक्षमा काम गरोस भन्ने चाहाना पनि ब्यक्त गरेका छन् ।
नागरिकता र पासर्पोट विवाद कानुनी पाटो भएकाले यसमा राजनीति गर्न नसुहाउने सापकोटाको तर्क छ । उनले तत्काल आफु कुनै पनि दलमा प्रवेश नगर्ने समेत प्रष्ट पारेका छन् ।
सभापति लामिछानेलाई चुनावमा चितवन क्षेत्र नं. २ बाट जिताउन आफ्नो स्वतन्त्र उम्मेदवारी समेत रद्द गरेर साथ दिएका सापकोटाले पार्टी सरकारमा रहेका बेला परित्याग गर्नुलाई महत्वका साथ हेरिएको छ । सापकोटाको पार्टी परित्यागले चितवन २ मा हुने उपनिर्वाचनमा रास्वपालाई धक्का पुग्ने अनुमान गरिएको छ ।
रास्वपामा सामुहिक छलफल भन्दा पनि सभापति लामिछाने एकल निर्णयबाट अघि बढेको भन्दै पार्टी भित्रैबाट गुनासोहरु पनि बाहिर आउन थालेका छन् ।
लामिछानेले पुन: नागरिकता प्राप्त गरेपछि गुमेको गृहमन्त्री पद माग्दा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सभापति लामिछानेले आफुलाई पुन: गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको र नबनाए सरकार छोड्ने चेतावनी समेत दिएका छन् । तर प्रधानमन्त्री प्रचण्डले लामिछानेको नागरिकता विवादको मुद्धाबारे सर्वोच्च अदालतले गरेको फैसलाको पुर्ण पाठ पख्रिन आग्रह गरेका छन् ।
प्रचण्डले लामिछानेको पासर्पोट विवाद पनि अदालतमा विचाराधिन रहेकाले अहिले नै गृहमन्त्रीमा नियुक्त गर्न नसकिने समेत बताएका छन् । लामिछानेलाई पुन: गृहमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले भने दवाव दिएको समेत बताइन्छ ।
भिडियो पनि हेरौं










