सांसद अरुणकुमार चौधरी पक्राउ


काठमाडौं । सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीले ट्याक्टरमा आगो लगाएको आरोपमा छ ।

जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई गरिएको बताईएको छ । कोहलपुरबाट पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलाली लगिदै छ ।

अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

उनले कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ भदौ ३ गते आगजनी गरेका थिए । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए । जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार