राष्ट्रपतिको सवारीका क्रममा डाक्टरलाई लाठी हान्ने हवल्दार निलम्बन


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई लाठी प्रहार गर्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन्। सवारीका बेला सडकमा हिंडेको भन्दै डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि डाक्टरमाथि लाठी प्रहार भएको घटना राम्रो नभएकाले छानबिनका लागि गुरुङलाई निलम्बन गरिएको हो ।

हिजो दिउँसो संघीय संसदलाई संवोधन गर्न राष्ट्रपति भण्डारीको सवारी भइरहेका बेला सडकमा हिंडेको भन्दै डिउटीका खटिएको प्रहरीले वीर अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर जाँदै गरेका डाक्टर जनिथलाल सिंहको टाउको लाठी प्रहार गरेको थियो । जुन घटनाको चौतर्फी विरोध भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार