
काठमाडौँ। चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत सोङले प्रचण्डसंग भेटवार्ता गरेका हुन् । राष्ट्रपति पदको उम्मेदवारीका बिषयमा दलहरुबीच खिचातानी भइरहेको बेला चिनियाँ राजदूतले प्रचण्डसंग गरेको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । राजदूत सोङ यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
राष्ट्रपति निर्वाचनको सम्बन्धमा भारतपछि चीनले पनि आफ्नो सक्रियता देखाएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए ।
राजदूत सोङ प्रधानमन्त्री प्रचण्डलाई चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिनियां राजदूतसंगको भेट लगत्तै अहिले प्रचण्ड र ओलीबीच भेटवार्ता भइरहेको छ ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिन दुई दिन मात्र बाँकी रहँदा दलका नेताहरुबीच भेटघाट तिर्ब छ ।











