
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदैछ । निर्वाचन आयोगले फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयतालिका सार्वजनिक गरेको थियो । आयोगले आज बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको । जसअनुसार दलहरुले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गएर मनोनयन दर्ता गर्नेछन् ।
आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ । आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को ३ सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५ सय ५० गरी कूल ८ सय ८२ हुनेछन्।
हिजो मात्रै बनेको आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा काँग्रेसको बैठक बसिरहेकोछ । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । अहिले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे ठोस निर्णय गर्दैछ । नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बस्दैछ ।
सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संवैधानिक ब्यवस्था छ ।
भिडियो पनि हेरौं










