आलोचनापछि उपसभामुख रानाले भनिन्ः ‘उच्च पदस्थ महिलामाथिको विभेदबारे गुनासाहरू राखेकी हुँ’


काठमाडौं । राज्यबाट दिइने सेवा, सुविधा नपाएको भनेपछि आलोचित भइरहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले त्यसबारे आफ्नो प्रतिकृया दिएकी छन् ।आज सामाजिकसंजाल फेसबुकमार्फत उनले आफूले सरकारी संयत्रमा रहेको लैङ्गिक विभेदबारे आफ्ना गुनासाहरु राखेको बताएकी हुन् ।

उपसभामुख रानाले फेसबुक स्टाटसमा भनिन्, ‘एकै ओहोदामा रहँदा पनि व्यवस्था र व्यवस्थामा रहेका व्यक्तिहरूले महिलालाई हेर्ने दृष्टिकोण र सरकारी संयत्रमा रहेको लैङ्गिक विभेद जसले उपसभामुख जस्तो उच्च पदस्थ महिलालाई पनि छोडेको छैन भन्ने अर्थमा मैले मेरा गुनासाहरू राखेकी हुँ ।’

उनले आफु पद र पैसाको लोभी नभएको समेत प्रष्ट पारेकी छन् ।

‘बाँकी, म भाषा, शैली,शब्द, वाक्य मिलाई मिलाई बोल्न जान्ने मान्छे होइन। म पद पैसा र सुविधाको लोभी मानिस हुँ कि होइन भन्ने निर्णयमा पुग्नु भन्दा पहिला मेरो एउटा भाषण होइन सम्पुर्ण जीवन हेरि दिनु होला। त्यत्ति भए मलाई पुग्छ’, उनले फेसबुकमा लेखेकी छन् ।

उपसभामुख रानाले भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले हिजो काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यबाट उपसभामुखका रुपमा दिइने सेवा, सुविधा आफुले नपाएको बताएकी थिइन् ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उनले बताएकी थिइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो । सार्वजनिक रुपमै आफुले राज्यबाट सेवा, सुविधा नपाएको भनेपछि उपसभामुख रानाको सामाजिकसंजालमा आलोचना भइरहेको छ ।

भिडियोहरु पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार