
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले केही छिट्टै समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अब केहि दिनमै सुरुमा समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताएका हुन् ।
उनले त्यसका लागि माओवादी धाराका कम्युनिस्ट घटकहरूबिच छलफल भइरहेको बताए । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्ने आफुहरुको मान्यता रहेको भन्दै त्यसका लागि भोलि संयुक्त अपील गर्न पत्रकार सम्मलेन समेत गर्न लागेको अध्यक्ष प्रचण्डले जानकारी दिए ।
उनले समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताए । कम्युनिस्ट एकताका लागि माओवादीहरूले नै पहली पदम लिनुपर्ने उनको भनाई छ । एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि एमालेमा बलियो रहेको बताए ।
एमालेमा ठुलो पंक्ति कम्युनिस्ट एकताको पक्षमा रहेको भएपनि एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको प्रचण्डले बताए ।
‘नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्’, प्रचण्डले भने ।
भिडियो पनि हेरौं










