
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने तयारी भइरहेको बताएका हुन् ।
‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुई वटा मन्त्रालय मिलाउन बाँकी भए पनि अरू टुङ्गिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । ‘मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि अव नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पुरै तागत लगाउँछु ।’
आज १ बजेपछि मन्त्रिमण्डल विस्तारबारे छलफल गरेर नयाँ मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी भइरहेको छ ।










