
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकको बदला तीन लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै पूर्व गृहमन्त्रि समेत रहेका लामिछानेले आगामी उपनिर्वाचनमा तिनै क्षेत्रमा चुनाव जितेर संसद छिर्ने सपना रहेको बताएका हुन् ।
उनले स्टाटसमा लेखेका, ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन। अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’
चितवन क्षेत्र २ बाट अत्याधिक मतका साथ विजय भएका सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । चितवन २ लगायत बारा र तनहुँमा बैसाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन २ बाट आफु फेरि चुनाव लड्ने, बारा र तनहुँमा पनि रास्वपाले जितेर तीन जना संसद छिर्ने उनले बताएका हुन् ।
आज मात्रै डा स्वर्णिम वाग्लेले नेपाली काँग्र्रस परित्याग गरी रास्वपा प्रवेश गर्ने भएपछि सभापति लामिछानेले स्वर्णिम दिनहरु आउने बताएका छन् । वाग्लेलाई पार्टीको साधारण सदस्य बनाएर तनहुँबाट उम्मेदवार बनाउने रास्वपाको तयारी छ । वाग्ले अर्थविज्ञका रुपमा परिचित छन् ।










