
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागि हुनेबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा जाने भएकाले अहिलेको सरकारमा सहभागिता जनाउने कुरा पनि उपचुनावपछि मात्र निर्णय गर्ने बताएका हुन ।
प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए ।
उनले भने, ‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं ।’ उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने बताए ।
१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएकाले आफ्नो पार्टी सबै भन्दा ठुलो पार्टी बन्ने पनि दाबी गरे ।















