
काठमाडौँ। उम्मेदवारी दर्ता लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालको राहदानी लिएको भन्दै लामिछानेविरुद्धको सर्वोच्चमा रिट अदालतमा दर्ता भएको हो। युवराज पौडेल ‘सफल’ले हिजो सर्वोच्चमा दिएको रिटलाई मुख्य रजिस्ट्रारले अध्ययन गरेर आज दर्ता गरेका हुन् । रिटको पेसी भोलीका लागि तोकिएको रिटकर्ता सफलले बताए ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालको राहदानी लिएकाले कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने रिटकर्ता सफलको माग रहेको छ । आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको सफलले रिटमा उल्लेख गरेका छन् ।
त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि उनको दाबी छ ।
लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने सफलको माग छ। दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि रिटमा उल्लेख छ ।
सफलले नै रवि गृहमन्त्री भएका बेला उनिविरुद्ध नागरिकताबारे सर्वोच्चमा रिट हालेका थिए । जसमा सर्वोच्चले रविले पुनह नागरिकता लिनुपर्ने भन्दै आदेश दिएपछि उनको संसद पद खारेज भएको थियो । संसद पद नै खारेज भएपछि चितवन २ मा उपनिर्वाचन भइरहेको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले आज बिहान आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।










