
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले आज निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। सभापति लामिछानेले पुनह नागरिकता लिएको तीन महिना नपुगेकाले उनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको दावी गर्दै आफुले उजुरी दिएको सफलले बताएका छन् ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उनको उजुरीमा उल्लेख छ।

उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरेका छन् । हिजो मात्रै सभापति लामिछानेले चितवन २ बाट वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै चिवतन २ बाट उम्मेदवार बनेका डम्मर पुरीले पनि लामिछानेविरुद्ध उजुरी दर्ता गराएका छन् । उनले आज दिउँसो उजुरी दर्ता गराएको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।











