ऋण तिर्दिनँ भन्नेहरूलाई छोड्न सकिन्न, अराजक प्रवृत्ति सैह्य हुँदैन्ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ’, प्रचण्डले भने ।

“विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” उनले भन्, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।”
राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेको उनको भनाई छ

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भने ।

बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्न नहुने बताउँदै उनले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताए । छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए का थिए ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार