काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा आज भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको आयोगले बताएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको आयोगको भनाई छ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ । अहिले तीनवटै निर्वाचन क्षेत्रका विभिन्न मतदानस्थलबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको सहप्रवक्ता अर्यालले जानकारी दिए ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी गरिसकेको उनले बताए । आयोगका अनुसार बारा २ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन २ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ १ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ ।
बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने आयोगको अनुमान छ ।
उपनिर्वाचन सम्पन्नबारे आयोगको विज्ञप्ति











