
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई बधाई समेत दिएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए ।
नेपालले खेल जितेपछि मन्त्री श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै खुसी साटेका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको थियो । नेपाल विजयसंगै यसैबर्ष पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाउने पनि पक्का भएको छ ।











