
(File photo)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर जनताले घण्टी बजाएको बताएका छन् ।
आज रास्वपाको ललितपुर महानगर समितिको भेलालाई संवोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएको बताएका हुन्। उनले भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म विश्राम नलिने समेत बताए ।
उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको अभियान नरोकिने दाबी पनि गरे।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमाथि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग समेत गरे ।
रास्वपाले भ्रष्टाचार निर्मूल पार्ने बताए पनि सरकारले भ्रष्टाचारको फायल खोल्ने बित्तिकै सरकारलाई दिएको सर्मथन फिर्ता लिएर बाहिरिएको भन्दै सत्तापक्ष र जनस्तरबाट आलोचना पनि भइरहेको छ ।










