
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा कुनै पनि अनुचित सम्झौता नगर्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा सिंहदरवारस्थित पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अनुचित नगर्ने र देश र जनतालाई फाइदा हुने सम्झौता मात्रै गरिने बताएका हुन् ।
बैठकमा प्रचण्डले व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई एजेण्डा बनाएका छन् । यस्तै कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल हुने प्रचण्डले बताए ।
भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत आफ्नो भारत भ्रमणमा ठोस कुरा हुने प्रचण्डले बैठकमा बताएका छन् ।
बैठकमा माओवादी सांसदहरुले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको र आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने, नेपाली जनतामा गलत सन्देश जाने गरी कुनै पनि सम्झौता नगर्ने बताएको एक सांसदले जानकारी दिए ।










