पूर्वमन्त्रीलाई वहालवाला मन्त्रीको जवाफः ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउदा राम्रो’


काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले सांसद प्रेम आलेलाई कडा जवाफ दिएका छन् । उनले सांसद आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउन आग्रह समेत गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले मन्त्री किरातीलाई पशुपतिनाथ मन्दिरका चोरलाई संरक्षण गरेकोदेखि विभिन्न कमिसनको खेलमा लागेको आरोप लगाएका थिए । जसको सामाजिकसंजालबाटै मन्त्री किरातीले जवाफ दिएका हुन् ।

मन्त्री किरातीले सामाजिकसंजाल फेसबुकमा लेखेका छन्, “बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे- आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।”

मन्त्री किरातीले नेपाल बायुसेवा निगम लगायतका क्षेत्रमा यसअघि मन्त्रीहरुकै संलग्नतामा कमिसन र भ्रष्टाचार हुँदै आएको बताउँदै आएका छन् । ऋणमा रहेको निगमलाई आफ्नो कार्यकालको तिन महिनामै चार अर्ब नाफा कमाउन सफल भएको मन्त्री किरातीको दावी छ । उनले यसअघि सरकारी जहाजलाई थन्काएर राज्यलाई घोटाला गरिदै आएको समेत बताएका थिए ।

मन्त्री किरातीले आफुलाई पनि कमिसन लगायतका लोभ देखाउँदै मन्त्रालय आउने त्यस्ता विचौलिया र दलालहरुलाई झपारेर पठाउने गरेको बताउँदै आएका छिन् । आफ्नो कार्यकालमा निगमका वेथिति र कमजोरीहरु हटाउँदै सुधार गरेर छाड्ने अठोट रहेको मन्त्री किरातीको भनाई छ ।

संसदमा बोल्दै एकीकृत समाजवादीका सांसद तथा पूर्व पर्यटन मन्त्री आलेले मन्त्री किरातीलाई पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई मन्त्री किरातीले संरक्षण गरेको आरोप लगाएका हुन् ।

सांसद आलेले गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई मन्त्री किरातीले कोषको सदस्यमा नियुक्ति दिएको आरोप लगाएका छन्।

यस्तै सांसद आलेले नेपाल बायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्रीले संचार ध्यममा झुट बोलेको बताए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार