पूर्वाधार मन्त्री ज्वालाद्वारा सुर्यबिनायक-धुलिखेल सडकखण्ड समयमै सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भक्तपुरको सुर्यबिनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन्। आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको नेतृत्वमा सडक बिभागका महानिर्देशक तथा अन्य विभिन्न बिभागका प्रमुख सहितको टोलीले निर्माणाधिन सडक खण्डको अनुगमन गरेका हुन् ।

भक्तपुरको सुर्यबिनायक र काभ्रेको साँगा देखि दुई खण्डमा बिभाजन गरी ठेक्का लगाइएको यो सडक खण्डमा हाल सडकका दुबै साईटमा पर्खाल निर्माणको काम भैरहेको छ। भक्तपुरको सुर्यबिनायक देखि काभ्रेको धुलिखेल सम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत बर्षबाट शुरु गरिएको हो।

सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने बताए।

मन्त्री ज्वालाले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुबिधा दिनुपर्नेमाजोड दिए ।

करिव ८ अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको सडकको तीन स्थानमा पक्की पुल समेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिए ।

करिव ३ बर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ ५/५ मिटरको सर्भिस लेन २.५ मिटरको पैदल मार्ग रहने पौडेलले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार