
File photo
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका सबै भ्रष्टाचारीहरूलाई जेल कोच्नु नै रास्वपाको विचार भएको बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो पार्टीको विचार नै छैन् भन्नेलाई देशका सबै भ्रष्टाचारीहरूलाई जेल कोच्नु नै रास्वपाको विचार भएको बताएका हुन् ।
“नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन्। हाम्रो पार्टीको विचार नै छैन् भन्छन्, तिनलाई हामी भन्न चाहन्छौं, देशका भ्रष्टहरु सबैलाई एकैचोटी जेल कोच्ने नै हाम्रो विचार हो ।”
यो देशलाई स्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानूनी दायरामा ल्याउने समेत उनको भनाई छ ।
उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट बताए। सभापति लामिछानेले आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको पनि बताए ।
रास्वपाले २०८४ मा दुई तिहाई ल्याउने भन्दै अहिले देशभर संगठन विस्तारको काम गरिरहेको छ । स्थानिय वडा तहमा पनि आफ्नो संगठन विस्तारमा लागेको छ ।










