
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३औँ नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।
“सांस्कृतिक शहर, समृद्ध महानगर” को नारा सहित मेयर बालेन शाहले नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
महानगरले आफ्ना नीति तथा कार्यक्रममा ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने लगायतका रहेको मेयर शाहले बताए।
त्यस्तै नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने मुख्य विषय पनि राखिएको छ ।
‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् । यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ लगायतका नारा बोकेर नीति तथा कार्यक्रममा समेटिएका छन् ।
नगरसभा सहभागि सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाएका थिए । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने लगायतका सुझाव दिएका थिए ।










