
काठमाडौं । श्री एयरलाइन्सले आज दिन आफेना सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्ने भन्दै आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।
हिजो मात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि बिचबाटै काठमाडौं फर्किएको थियो ।
श्रीका प्रबन्धक अनिल मानन्धरले नागरिक उड्डयन प्राधिकरणले नभइ श्रीले आफैले सबै जहाजहरुको प्राविधिक जाँचका लागि आजका उडानहरु स्थगित गरेको र भोलीबाट उडानहरु नियमित रुपमा सञ्चालनमा आउन बताए ।
श्री काठमाडौंबाट सुगम रुटहरु भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आइरहेको छ ।







