
भक्तपुर । प्रधानमन्त्री प्रचण्डले फेरि कम्युनिष्टहरु गोलबद्ध भएर नेकपा बनाउनतर्फ जुट्नु पर्ने बताएका छन् ।
आज कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सबै कम्युनिष्टहरु गोलबद्ध भएर फेरि नेकपा बनाउनु पर्ने बताएका हुन् ।
उनले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकता गर्दै नेकपा बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
एमालेसंग मिलेर बनेको नेकपाप्रति जनताको ठुलो आस र भरोसा रहेकाले छिट्टै समाजवादमा पुगिने सम्भावना भएपनि त्यो बचाउन नसकिएको प्रचण्डले उल्लेख गरे ।
नेकपा कसका कारण टिक्न सकेन भन्ने कुरा प्रष्ट रहेको बताउँदै उनले फेरि पनि आफु नेकपा बनाउनतर्फ नै रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेकपा हुँदा विचार, व्यहार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । उनले माधव नेपाल र विप्लवसहित समाजवादी मोर्चा बनाएर अघि बढेकाले छिट्टै नेकपा बन्नेमा विश्वास व्यक्त गरे ।
प्रचण्डले माधव नेपाल र आफु फेरि नेकपा तिरै फर्कनुपर्छ भन्दै फेरि एकताबद्ध हुने छलफलमा रहेको बताए। देशलाई समाजवादमा लैजान कम्युनिष्टहरुबीच एकता अपरिहार्य रहेकोमा उनले जोड पनि दिए ।











