
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ असफल भइसकेको दावी गरेका छन् ।
आज पार्टी कार्यालय च्यासलमा गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्रीअसफल भइसकेकाले राजीनामा दिनुपर्ने समेत बताएका छन् ।
उनले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताए । असफल भइसकेका गृहमन्त्रीले रोष्ट्रममा गएर ठूला गफ दिएको नसुहाउने उनको तर्क छ।
‘राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ‚ यो गृहमन्त्रीको जवाफदेहीता होइन ?’ ओलीले प्रश्न गरे ।
एमालेले सुन बरामदका बिषयमा उच्च स्तरीय छानविय समिति बनाउनु पर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।








