
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरु आन्दोलित भएका छन् । उनिहरुले आज आन्दोलित हुँदै भन्सार जाँचपास ठप्प पारेका छन् ।
विमानस्थल भन्सारबाट पास भई सिनामंगलमा मा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा प्रहरीले कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साउन २ गते राजस्व अनुसंन्धान विभागको टोलीले तस्करीको उक्त सुन बरामद गरेको थियो ।
आन्दोलित कर्मचारीहरुले विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प पारेका छन् । उनिहरुले भोली पनि यसैगरी सेवा ठप्प पार्ने बताएका छन् ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
सुन तस्करी घटनाको अनुसंन्धान भन्दै आफुहरुलाई दुःख दिँदै मानसिक रुपमा विक्षिप्त बनाइएकाले उनिहरु हिजोदेखि पाँच बुँदे माग राख्दै आन्दोलित भएका छन् ।
आन्दोलित कर्मचारीहरुले अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायत कार्य अविलम्ब बन्द गर्नुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, बिनाप्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने, कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न र कर्मचारीलाई मात्र दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायत पाँच वटा माग राखेका छन् ।
आन्दोलनका कार्यक्रम अनुसार भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने, भदौ २७ गते यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरु प्रभावित गर्ने रहेका छन् ।










