
काठमाडौं । काठमाडौं उपत्यकामा चिनीको अभाव अझै कायमै रहेको छ । ठुला व्यापारीले चिनी लुकाएपछि अभाव अझै कायमै रहेको विभिन्न गुनासोहरु आउन थालेका छन् । सर्वसाधरणका गुनासोलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन गरिएका छन् ।
तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
‘उपत्यकामा चिनीको खोजतलास गर्न ३ वटा टोलीपरिचालन भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘नेपाल प्रहरीसहित,जिल्ला प्रशासन, नाप तौल, आन्तरिक राजस्व लगायतका सबै निकाय अनुगमनमा सहभागी छन् ।’
शुुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु बीच चिनी अनुगमनबारे छलफल भएको थियो ।
तीन वटै सुरक्षा निकायएको बैठकमा काठमाडौंमा लुकाइएको चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय भए बमोजिम टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उनीहरुले उपत्काका विभिन्न ठाउँमा चिनीको खोजतलास गर्ने बताइएको छ ।










