
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएका छन् । नियुक्त भएका निर्वाचन अधिकृतका लागि यही पुस १६ गतेदेखि कार्यालय स्थापना हुने भएका हुन् ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । नियुक्त भएका अधिकृतहरुले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका लागि आयोगले सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल, लुम्बिनीमा दाङका कृपासुर कार्की, कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, र गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोलालाई नियुक्त गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको पनि आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।















