
काठमाडौं। पक्राउ परेका ब्यापारी अरुण चौधरीलाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न अदालत नै आदेश दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा माघ १८ गते पक्राउ परेका चौधरीलाई अब दुई दिन भन्दा बढी हिरसतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
चार दिनसम्म हिरासतमा राखेर अनुसंन्धान गरेको प्रहरीले आज म्याद थपका लागि अदालत लगेको थियो । अदालतले ब्यापारी चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।
बाँसबारी जग्गा प्रकरणमा ब्यापारी चौधरीसंगै तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो ।
अदालतले पक्राउ परेका ब्यक्तिहरु आफूउपर लागेको आरोपमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको नरहेकाले प्रहरीले मागे अनुसार २५ दिन नै थुनामा राख्न आवश्य नरहेको बन्दै दुई दिनमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई अनुसंन्धानका लागि पक्राउ गरेको थियो । अहिले तीनैजना प्रहरीको हिरासत कक्षमा नभई ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन् ।









