
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका ब्यापारी अरुण चौधरीसहित आरोपी तिनै जना रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित अन्य दुई जना आरोपीलाई रिहा गरेको हो ।
अदालतको आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सामबार चौधरीलाई रिहा गर्नु भन्ने आदेश दिएको थियो । सोमबार प्रहरीले चौधरीलाई दोस्रो पटकको म्याद थपका लागि अदालत लग्दा अदालतले दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भन्ने आदेश दिएको थियो । जसको अधिकांसले आलोचना गरेका थियो । प्रहरीले चौधरीलाई २५ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्न पाउं भन्दै अदालत लगेको थियो । तर, अदालतले हिरसतमा राखिराख्नु उचित नभएको भन्दै अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।
चौधरी लगायतमाथि बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।
सोहि आरोपमा सीआइबीले चौधरीसहित ३ जनालाई माघ १६ गते पक्राउ गरेको थियो ।
मुलुकको एक प्रमुख व्यापारिक घरानाका सदस्य अरुण पक्राउ परेलगत्तै उनको मुद्दाको फाइल चाँडो बुझाउन प्रहरीमाथि दबाब बढेको थियो । त्यसपछि उनलाई ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो । राति त्यहाँबाट रिफर गरिएको भन्दै ग्राण्डी अस्पताल सारिएको थियो ।
बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो । त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए ।










