
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।
मुटुको चालमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । रायमाझीको स्वास्थ्यमा समस्या आएपछि हिजो उपचारका लागि अस्पताल भर्ना गरिएको केन्द्रीय कारागार सुन्धाराले जनाएको छ ।
नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले बताएका छन् ।
रायमाझीलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको डा. पौडेलले बताए । मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ । यसबाहेक रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए चिकित्सकको भनाई छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसंगै कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।
पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
थुनामा रहेका कांग्रेस नेता खाँण भने रिहा भइसकेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा २८ करोडको बिगो मागदाबी सहित ३० जनाविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा गत जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।










