सुँगुरको मिर्गौला शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको मृत्यु


काठमाडौं । सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि शनिवार मृत्यु भएको हो ।

स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए । तर, उनको २ महिनामै मृत्यु भएको छ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै सुँगुरको मिर्गौला प्रत्यारोपण गरेकै कारण स्लेम्यानको मृत्यु भएको भन्ने कुनै संकेत प्राप्त नभएको बताएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको ब्यक्तिमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो । त्यस्तै अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । तर केही महिनापछि दुवै जनाको मृत्यु भएको थियो। सुँगुरका अँगहरु मानिसमा प्रत्योरोपणको खबरले धेरैलाई अचम्मित पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार