
काठमाडौं। माओवादी सशस्त्र जनयुद्धपछि शान्ति प्रकृयामा बाँकी काम टुंगोमा पुग्न लागेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको छ ।
युद्ध सकिए पनि युद्धकालीन घटनाका पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनेबारे दलहरुले सहमती गरेर हालै संसदबाट विधेयक पास गरेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको हो ।
नेपाल भ्रमण क्रममा आज नेपाल आएका अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेट्दै बधाई ज्ञापन गरेको हो ।
उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको सहयोगको निरन्तरताप्रति आभार व्यक्त गरेका थिए ।










