चितवन । भरतपुर महानगरपालिकाले यसबर्ष पनि अन्तरजातीय विवाह गरेका जोडीलाई नगदसहित सम्मान गरेको छ । हरेक बर्ष झै यसबर्ष पनि महानगरले एक कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको हो।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।
महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।
देशका विभिन्न ठाउँमा अझै पनि दलित र गैर दलितबीचको विवाहलाई नस्विकार्ने, विवाह तोड्ने, झुटा मुद्धा लगाउने, बहिष्कार गर्ने जस्ता घटनाहरु भइरहेकाले त्यस्ता घटनाहरु नहुन भन्ने उदेश्यले महानगरले अन्तरजातीय विवाह गर्ने जोडीलाई हरेक बर्ष नगदसहित सम्मान गर्दै आएको छ ।
समाजमा अझै पनि व्याप्त जातीय विभेद रहेकाले त्यसको अन्त्यका लागि प्रोत्साहनस्वरुप महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले नगदसहित सम्मान गर्दै आएको मेयर रेनु दाहालले बताइन् ।
जातीय विभेद अन्त्यका लागि मेयर दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताइन्। आफुले गरेको कार्यबाट समाजमा सकारात्मक सन्देश गएको उनको भनाई छ । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या पनि बढ्दै गएकोमा मेयर दाहालले खुसी व्यक्त गर्दै आफ्नो अभियानले सार्थकता पाएको बताइन् ।
कार्यक्रममा बोल्दै उपमेयर चित्रसेन अधिकारीले समाजमा रहेको जातीय विभेद अन्त्य गर्न र सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठूलो भूमिका खेलेको बताए ।
नेपाल संविधान तथा विभिन्न ऐन कानुनले जातीय विभेद गर्नुलाई अपराध भन्दै दण्ड जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरेको छ ।