
काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी र ३०औं जलवायु सम्मेलनका अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका विशेष दूतका रुपमा नियुक्त गरेका डा. अरुणाभ घोषबीच भेटवार्ता भएको छ ।
आज मन्त्रालयमा भएको घेटवार्तामा जलवायु परिवर्तन, कार्बन उत्सर्जन लगायतका बिषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा परेको हिमाली राष्ट्र हो । यस बिषयमा पनि दुबै पक्षबीच छलफल भएको छ ।
नेपालमा केहि बर्ष यता हिमाल पग्लिने क्रम बढ्दै जाँदा जलवायु परिवर्तनमा नराम्रा असरहरु देखिएपछि नेपालले बेला बखत विभिन्न प्राकृतिक प्रकोपहरु खेप्दै आएको छ । हिमाल पग्लिने क्रम बढ्दै जाँदा तल्लो तटीय समुदाय समेत प्रभावित भइरहेका छन् । जलवायु परिवर्तन साझा विश्वव्यापी समस्या भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने लगायतका बिषयमा छलफल भएको छ ।
नेपालले ४६ प्रतिशत वन क्षेत्र संरक्षण गर्दै कार्बन सञ्चिति र स्वच्छ पानीमार्फत क्षेत्रीय योगदान पुर्याएको उल्लेख गर्दै पर्वतीय राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउन ‘सगरमाथा संवाद’ आयोजना गरेको थियो । आगामी COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालले भारतसहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय र साझा एजेन्डालाई अघि बढाउने बिषयमा छलफल भएको छ ।












